साझेदारी गर्नुहोस्

कर्णाली प्रदेशको मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएको छ।

चार वटै स्थानीय तह साक्षर घोषणा भएपछि सोमबार मुगुलाई ‘पूर्णसाक्षर जिल्ला’ घोषणा गरिएको हो।

साविक कर्णाली अञ्चलका चार जिल्लामध्ये मुगु पहिलो पूर्ण साक्षर जिल्ला बनेको छ। देशको ६५ औं साक्षर जिल्ला भएको छ।

‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने सन्देशका साथ मुगुलाई साक्षर घोषणा गरिएको हो।

मुगुले साक्षर घोषित हुनु आवश्यक १२ वटा सूचकमध्ये ६ वटा पूरा गरेको छ। यहाँ १५ देखि ५९ वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको तथ्यांक छ।

मुगुलाई २०७८ सालभित्रै साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको भए पनि तीन वर्षपछि मात्र लक्ष्य पूरा हुन सक्यो। कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये साविक कर्णालीका पाँच वटा जिल्ला पहिले नै साक्षर घोषणा गरिएका थिए।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा बाँकी रहेका मुगु, जुम्ला, कालीकोट, डोल्पा, हुम्लालाई पनि साक्षर बनाएर सिंगो प्रदेशलाई साक्षर घोषणा गर्ने कार्यक्रम समावेश गरेको थियो।

उक्त आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले तीन वर्षभित्रै सबै जिल्ला साक्षर घोषणा गरिसक्ने लक्ष्य राखेको थियो तर अझै पूरा भएको छैन।