साझेदारी गर्नुहोस्

=>हामी त वनभोज जानुपरे पहिले आमाबालाई सुनाउँथ्यौ र सहमति भए साथीसङ्गीमा कुरा पुर्याउँथ्यौँ । अहिलेका त पहिले योजना निश्चित गर्छन् र अभिभावकलाई जानकारीमात्रै गराउँछन् । कताको छलफल कताको घरेलु पन । कस्तो जमाना आयो, कुन्नि ! गलत चैँ नभैजाओस्, भगवान !
=>देशले गर्व गर्ने मन्त्री पाएको भनेर पक्क परियो, भ्रष्टाचारको नाइके पो निस्कियो ! अब ठ्याक लाउनुपर्छ ।
=>त्यो पल्लाघरे माइलाको त बोल्ने तमीज पनि छैन । जहिले पनि अर्कालाई खसाएर कुरा गर्छ ।
=>धाराखेतकी सानीले खोइ कहिले सोमत सिक्ने हो । यत्री भैसकी के गरिखाने हो; जोसँग पनि प्याच्च बोल्छे ।
=>मखमली टोलका पातलीका जोडी जहिले हटियामा रक्सी धोकेर झगडा गर्छन् ।
=>ओई धाक नलगा, कोसँग के भन्दैछस्, पाजी, तँलाई तेरा बाआमाले संस्कार सिकाएनन् ?
=>बिहानबिहानै स्युस्यु गर्दै स्कूल गा’को, केटाकेटी वैँशालु रमाइलोमा रहेछन्, नपढाइ फर्किएँ !
=>समाजसेवाका नाममा धार्मिकताको प्वाँख लाउनेहरू कहिलै धार्मिक हुनसक्तैनन् । याद गर है, साथी हो !

माथिका यी भनाइहरूमा व्यक्तिगत वा पारिवारिक तथा सामुहिक बुझिने एउटा परिचायक सङ्केत गरिको छ। यही सङ्केत- जसलाई संस्कार भनिन्छ- का बारेमा यहाँ केही विचारहरू राखिएका छन् ।

परिभाषा र व्याख्या जे भएपनि संस्कृतियुत जीवन पद्दति र यसले बुझाउने मनोगत र व्यवरहारगत जीवनको तौर नै संस्कार हो। यस धराधाममा जेजति प्राणी छन् सबैका आआफ्ना जीवन प्रणाली र पद्दति छन् । कति सही, कति खराब त कति मिश्रित पाराका । यस्ता मूर्त र अमूर्त तत्त्वमा निहित यथार्थ र सोबारेको बुझाइ र प्रतिविम्बित गर्ने तरिका फरक छैनन् भन्ने कुरा होइन । फरक विशेषतामै सही, प्राणीको अस्तित्व र विकासमा संस्कारको ठूलो अर्थ छ, उपादेयता पनि !

हामी मानिसको प्रसङ्गमा भन्नुपर्दा बोलीचाली, पहिरन, धर्म, संस्कृति तथा अन्य क्रियाकलापको एकमुष्ट सम्पदा संस्कार हो । प्रारम्भमा यो एउटा समुदाय विशेषबाट शुरु भएको मानिए पनि समगुणी अन्य समुदाय र वर्ग जोडिँदै संस्कारको प्रसारण र आत्मसात गर्दैआइएको बुझ्नसकिन्छ । चक्कुले नङ काट्ने र नैनी चलाउने कुराका श्रोत र सन्दर्भमा जोजे भएपनि तत्त्वमा नङ काट्ने संस्कार नै उभिएको हुन्छ । हामीले रङपानीको होली पर्व मनाउनु र केही बाहिरी मुलुकमा फिक्का पानी छ्याप्ने पर्व मनाउनुले पनि केही यस्तै कुराको पुष्टि गरेको प्रष्ट हुन्छ । त्यस्तै, सबै धर्मले मानवकल्याण र शान्ति बोल्नु र सबै राजनीतिक दलहरूको उद्देश्य सरकार बनाउने हुनु कत्ति पनि पृथक् छैनन् । बस्, सोमत अर्थात् अरूलाई नबिझाउने मत र सोहीअनुसारको व्यवहार, परेका बखत सहज सहयोगी भैदिने तदारुखता, अर्मपर्म बुझेको हृदयमा पाप नभएको न्यायी कर्मशील स्वभाव संस्कारले खोजिएको विशेष लक्षण मानिन्छ । एकथरी बोल्ने र अर्कोथरी गर्ने दोग्ला मानिस प्रायः आफू र आफ्नाले जेजसो गरेपनि अरूले चैँ उनीहरूप्रति संस्कारयुत व्यवहार देखाउन् भन्ने चाहेको सर्वत्र बुझिन्छ । आफ्नैले पनि पाहुनापाछा आएका बेला तथा सामाजिक समारोहमा सोमत नहराउन् ठान्नेको सङ्ख्या उत्तिकै बाक्लो भेटिनेगरिन्छ पनि ।

विभिन्न कला, भाषा–साहित्य, जात्रा तथा चाडपर्व, सङ्गीत मुछिने रीतिरिवाज वा प्रथापरम्पराले जनाउने संस्कृतिले संस्कार बोकेको हुन्छ । आशा गर्नुपर्छ, हामी सबै सुसंस्कारका माध्यम बन्नसक्छौँ । हामीले पाएको संस्कार र हामीमार्फत् पिढीं दरपिढींमा जाने संस्कार मौलिक रहोस् र व्यवहारिक कसीमा कसैले औँलो ठड्याउने किसिमको नहोस् । पुनश्च, यस्तो लाग्नेगर्छ: उचित संस्कार मानौँ यो कल्पनाको लड्डु हो, र धेरैका कथामा पाइन्छ !

राम्रो र नराम्रो दुवै प्रकारका हुने भए पनि संस्कारका कुरा गर्दा स्वभावत: राम्रो पक्ष उजागर गर्नखोजेको बुझिन्छ । फेरि, यहाँ व्यक्त गर्नखोजिएको संस्कारको ढ्वाङ अलिक बेग्लै पाराको खुराकमा सर्वजनित छ । बालबालिकाहरूलाई सरसम्बन्धका मान्छेलाई अभिवादन गर्न र नम्र भावले बोल्न सिकाउनु, युवा वर्गलाई समाज अनि देशबोध गराउने कुराहरूमा निर्देशन गर्नु आदि कार्यले संस्कार हस्तान्तरणको क्रम बुझाएका हुन्छन् । प्रारम्भिक जीवनमा सिकेका गरेका कुराको छाप पछिसम्म बहुप्रभावी रहने हुनाले होला सायद बाल्यावस्थादेखि नै घर तथा शिक्षालयहरूमा व्यक्तिहरूलाई विभिन्न किसिमले अध्यापननिर्देशन गरिन्छ गराइन्छ । यस्तो प्रकृयाको निश्चित प्रणाली होला नहोला तर अपेक्षित मान्यता उस्तै रहने गरेको पाइन्छ । जस्तो कि अभिवादनमा नमस्ते, नमन्, नमस्कार, प्रणाम, ज्यु, जदौ, फ्याफुल्ला, सेवा, सेवारो, जोजोलपा, टाशीदेलेलगायत अनेक प्रकार भेटिन्छन् । तथापि, यस्ता अभिवादन सबैले तत्त्वमा भेटको अर्थ बताउनु हो, स्थापित सत्कार र खातीरीको रीति झल्काउनु हो अनि बातचितको धरातल सहज गर्नुगराउनु हो । त्यसैगरी, उमेर बढ्दै गएसँगै सामाजिकताको विकास भए सम्बन्धित व्यक्तिको जीवन सहज हुने, आपसी समझ र सहकार्य हुँदै देश-परदेश बुझ्ने सामर्थ्यको विकास अवस्य पनि आवश्यक मानिने हुन्छ । कतिपय परिवारमा अभिभावक र सन्तानबिच दरार बढ्दै गएको बुझिन्छ र आधुनिकताका नाममा मौलिकता जथाभावी रीति अनुशरणको श्रिङ्खला उस्तै छ । कुरा छिनेर टीकोटालो भएपछि बिहेमा जम्मा हुने एक संस्कार आज बेसार र अदुवा, बाजा र नाच गर्दै हप्तादिने भैसकेको छ भने अन्यान्य उदाहरणले सांस्कृतिकरणका नाममा विचलन ल्याएकै छन् भन्नुपर्ने हुन्छ । नचाहिँदो देखासिकी गर्नुहुन्न भन्नेहरूले अन्यथा गर्नेगरेका घटना प्रशस्तै भेटिनाले यो भन्नसकिन्छ कि जानेर तथा नजानेर हर परिवारमा संस्कारका रागहरू अलापिन्छन् र संस्कृत आत्मिकरणका जाप लगाइन्छन् । यस्ता रागमा सहीका लागि सहमति सम्प्रेषणको सङ्केतबाहेक अरू केही मिल्ने अवस्था नरहने धेरैको ठम्याइ छ !

भन्नैपर्छ, अलिअलि पढेको छु ठान्नेले नपढेकाहरूमा राखिने दृष्‍टि फरक भैआउनु, थोरै कमाएकाहरूले केही बढ्ता कमाएका प्रति खलु सङ्केत गर्नेगरिनु, केही नाम र दामको छु भन्ठान्नेले कम आयश्रोतका प्रति हेयभाव राख्नेगरेको भेटिनु संस्कारका विलोमबाहेक केही हैनन् भन्नपर्ने हुन्छ । हामी अनुलोम, अग्रगामी र सुल्टो कुराका जोडमा रहन खोज्छौँ तर हाम्रै कतिपय तौर अन्यथा पाइने यथार्थ घामजत्तिकै छर्लङ्ग भेटिन्छ पनि ।

रात भएपछि दिन र सोको विपरित अनि यस्तो क्रमको पुनरावृत्ति हुने भएबाट पनि यस्तो भएको हो कि ! कसैको उल्टो कसैको सुल्टो ! निरीह नागरिकको पेट काटेर उठाइएको कर र देशको सम्प्रभुता च्याँखे थापेर हात पारिएको ढुकुटी हत्याइ दक्षिण अफ्रिका घुमेर आएका हाम्रा मन्त्री छिमेकीका झ्याल चिहाउँदै हिँड्छन् । आफ्नो हात जगन्नाथ भनेझैँ मनचाहा खर्च गरी युरोपियन बजार घुमेर फर्कँदा विकासको एउटा सिन्को नभाँची राणाजमातलाई सत्तोसराप गर्दै उनीहरूकै खोकिलामा अरबी कबाब टोक्तैभने गर्छन् पनि ! यो कस्तो संस्कार ? अर्को चुनावको त ख्याल राख्नुपर्ने ? दलको नाम फेरेर, दल फेरेर, जसरी भएपनि सत्तावाग्डोरमा स्वयम् हालीमुहाली हुने भएर पो हो कि ! नेतृत्व वर्ग चुकेपछि अरूका कुरा के गराइभयो र ? तैपनि, भविश्यको कुनै गर्भमा पनि मानवीय सुधारको सम्भावना नबोक्ने जसरी पनि पैसा कमाउन कम्मर कसेको मान्छे आचरण फलाक्तै भेटिनु, रोग नभेटी उपचार खर्च असुल्ने चिकित्सक, आफैँले नबुझेको कुरा बुझाउन खोज्ने शिक्षक, छद्मी प्रचारक र मित्रताका नाममा शत्रुता साँध्ने कुआत्माहरू चिप्लो घस्तै भेटिनु तथा एकातिर पाकेकाहरू ननिचोरी राखेको पिलोभित्र पिल्सिएर रहेको विकारझैँ अहङ्कार पालिबसेका बुझिनु सोचनिय लाग्छन् । पीडामा नछट्पटाउनु भनिन्छ फेरि, र यस्तो भन्नेहरू पनि आफूलाई परेका बेला अलापविलाप गर्नेगरेकै हुन्छन् ।

भन्नु र गर्नु पनि फरक होलान्, अनि फरक होलान् भोगाइका पाटा । नामकरण, छेवार, व्रतबन्ध, विवाह, र मृत्यु संस्कारजस्ता सुनिआइएका सोह्र संस्कारका साथै कैयन् यस्ता रीतिपुञ्जले हामीलाई प्रकाशित गरिरहेका हुन्छन् । त्यसैले आफ्नो संस्कारमा कायम रहनु मान्छेको पहिलो धर्म हो । कमीकमजोरीमा समयानुसार अपेक्षित स्विकार्य सुधारमा लाग्नुको विकल्प हुन्न । मासिकश्रावमा रहने उत्सर्जनको विसर्जन राम्रो हुनुपर्छ तर यस जैविक यथार्थको कुरालाई अलौकिक कुनै त्राशसँग जोडेर छाउपडी राख्नु व्यवहारिक हुनै सक्तैन । न त जातिय विभेद कायम रहनु धार्मिक हो । कुरो उदार मनको हो अनि सकारात्मक सुधारको हो । उसो त, एक धार्मिक खेमाबाट विचलित भइ अर्को खेमामा जानेहरूका धारणा केही समयसम्म त अलग त हुन्छन् नै । विचलन आउनु कतै पनि राम्रो मानिदैन । कतै उदार भावले रहेकाहरू कतै जबर्जस्तीमा परेर वाक्नु न निल्नुको हालत परेका पनि हुन्छन्, संस्कार यस्तो होस् कि कतै कुनै प्रकारको फुइँ अनि व्यभिचार नहोस् । जता होस् मानवताको समभाव नछुटोस् ।

कसैको उक्साहट र प्रलोभनमा हठात् नलागौँ र आफ्नो संस्कार आफ्नो पहिचान हो भन्ने कतै नभुलौँ । अनि आफूजस्तै अरू पनि हुन् बुझी समाज खल्बल्याउनेविरुद्ध सावधान रही सामाजिक सद्भावका लागि सदैव लागिरहन सम्बन्धित सबैमा अपील यसैसाथ अवजनित छ ।

संस्कार बुझ्न र संस्कारी हुन सघाउने भावको यो काव्य छटा पठनीय छ भन्न्ने आग्रह जनाउसहित, नमस्कार !

सामिप्य लौ जुर्यो नौलो बढ्यो प्रणय चीजको
गर्भाधान भयो हाँसी आत्मा भाकेर ईशको ।
जन्मियो बाल रोएर काटियो नाल स्वस्थ भै
छैठी नि सकियो फेरि न्वारान गरियो ल है !
पास्नी भो रीतले उस्तै छेवार नि गराइयो
सकेको सत राखेर व्रतबन्धादि भ्याइयो ।
बालिका गर्भमा आइन् भ्रूणचर्चा भयो रम
भए सम्पूर्ण संस्कार गुन्युचोली गरीकन ।
चौरासी गरिने सुन्दा लाइयो एक मुन्धुम
जन्म, विवाह औ मृत्‍यु दैवी यसर्थ भन्छु म !
छडी निर्देशको उम्दा लडी हो अनि फूल्झडी
माने संस्कार हो गाथा सारा जीवनको कडी ।

आशा गरौँ, हवशले होश नखाओस्, मानवहितविरोधी कृत्यहरू नहुन्, न्यायसम्मत विधिको लोककल्याणकारी समाजको व्यवस्था होस् । अनि, जिन्दगीको जय हुनेगरी समग्रतामा ज्युने संस्कार मानवीय आवश्यकता महशुस गरी मानिसहरू आआफ्ना जीवनी कोर्दै रहनेछन् । सफासुग्घर रहने, समयको पाबन्द रहने, कर्तव्य नबिर्सी अधिकार खोज्ने, आफूजस्तै अरू सम्झी सामाजिक व्यवहार गर्ने तथा सिर्जनशील रही सहयोगी हुने जो छ उही संस्कारको द्योतक रहने गरेको तथ्य सर्वथा चिन्तनीय एवम् अनुशरणीय भैकन वन्दनीय रहनेछ भन्ने यथार्थमा बुद्धिमा शुद्धि, शिक्षामा दिक्षा र दिलमा दिमागको मादल बजाउँदै समावेशी सन्तुलनको सपाट मान्यता अक्षुण्ण राख्न सार्थक जीवनकामी हर कोही लागिरहनेछन्, वरत्र र परत्र नभुली । अस्तु ! (साभार/लेखक)