साझेदारी गर्नुहोस्

नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई  बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली पनि परिचालन भएको छ ।  भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आजबाट खोजतलासका लागि घटनास्थल आइपुगेको हो ।

खोजतलासमा परिचालन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित यहाँका सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो ।

खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथाशक्य छिटो खोजतलासको काममा जुट्ने बताए। उनले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने बताए। धमिलो र उच्च बहावका नदीमा खोजतलास कार्य भारतमा गरेको भन्दै उनले यहाँ काम गर्न सकिने बताए।