संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै गाजामा इजरायलको युद्ध तुरुन्त रोक्नुपर्ने बताएका छन् । उनले पश्चिमी देशहरूले हालै प्यालेस्टाइनलाई दिएको राज्यको मान्यता हमासका लागि पुरस्कार भएको दाबी गरे ।
ट्रम्पले गाजामा रहेका बन्दीहरूलाई घर फर्काउनु पर्नेमा जोड दिए । ‘हामीले यो गर्नैपर्छ । शान्तिका लागि वार्ता गर्नुपर्छ । हामीले बन्धकहरू फर्काउनु पर्छ । हामीलाई सबै २० जना फर्किनुपर्छ’, उनले भने । यो सन्दर्भ ४८ मध्ये अझै बाँचेका २० कैदीसँग सम्बन्धित थियो ।
शान्तिलाई समर्थन गर्नेहरूले बन्धकहरूको तत्काल रिहाइ माग्नैपर्ने उनले महासभालाई आग्रह गरे ।
महासभाको छेउमा ट्रम्पले साउदी अरेबिया, कतार, युएई, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेतासँग गाजाबारे छलफल गरे । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले बैठकलाई धेरै फलदायी भनेका छन् । उनले संयुक्त घोषणा जारी हुने समेत जनाएका छन् ।






















